सामुहिक लगानीको अवधारणा कार्यान्वयन गर्छौं

Written by NEPALINK. Posted in बिशेष

Tagged:

Published on October 18, 2011 with No Comments

जीवा लामिछाने अर्थात गैरअवासीय नेपाली संघका पाँचौ अध्यक्ष । हालै काठमाडौमा सम्पन्न पाँचौ विश्व सम्मेलनबाट निर्विरोध निर्वाचित हुन सफल व्यक्ति । गैरआवासीय नेपाली संघमा यस अघि पनि जिम्मेवार पदमा रहेर सफल कार्यकाल विताउनु भएका उनै लामिछानेसँग गोकुल श्रेष्ठले गरेको संक्षिप्त कुराकानी ।

निर्विरोध निर्वाचित हुनु भयो, यो सफलतालाई कसरी लिनुभएको छ ?

यस्ता खालका सामाजिक संस्थामा सहमतिबाटै नेतृत्व चयन हुने हो भने काम गर्न सजिलो हुन्छ । सबैको मन जितेर अघि बढ्न सकिन्छ । अर्काे कुरा के हो भने हाम्रो संस्थाको स्थापना काल देखि नै सहमतिबाट नेतृत्व चयन गर्ने परम्परा बसालेका छौं र पाँचौ विश्व सम्मेलनसम्म आई पुग्दा पनि अन्तिम अवस्थामै भएपनि सहमतिबाटै नेतृत्व चयन गर्न सफल भएका छौ । यसले सहमतिको वातावरण बनेको छ भने सबैतिर राम्रो सन्देश गएको छ । यति मात्र होइन यसले भोलिका दिनमा सबैसँग हातेमालो गरेर काम गर्ने वातावरण समेत बनेको छ ।

तपाईको पहिलो प्राथमिकता के हुने छ ?

हामीले पहिले देखि नै सामुहिक लगानीको विषयलाई निकै जोडतोडका साथ उठाएका थियौं र छौ । अव यसलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्ने बेला आएको छ । यो नै मुख्य चुनौति पनि हो । हाम्रो पहिलो अन्तराष्ट्रिय समितिको बैठकबाटै अव कसरी सामुहिक लगानीको प्रक्रियालाई अघि बढाउने भन्ने विषयमा गम्भिर छलफल सुरु गरेका छौं । अव छिट्टै नै एउटा अवधारणा पत्र तयार गरेर विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीहरु माझ पु¥याउँदै छौं । त्यस्तै हाम्रो संगठन स्थापना भएको नौ वर्ष पुगिसक्यो तर पनि यसको आर्थिक स्थायीत्व मझबुत बनाउन सकेका छैनौ । अहिले सम्म संघमा आवद्ध व्यक्तिहरुले गरेको स्वेच्छिक सहयोगबाट चलेको छ । यति ठूलो संगठन सधै यसैगरी चलिरहन सम्भव हुँदैन । त्यसैले आगामी दिनमा यसको आर्थिक स्थायीत्व कसरी निर्माण गर्ने भन्ने अर्काे चुनौति हो । यसलाई मैले दोस्रो प्राथमिकताको रुपमा राखेको छु । त्यस्तै हामीले गर्दै आएका सामाजिक तथा परोपकारी कामको निरन्तरता र हिजो गरेको प्रतिवद्धताहरु पूरा गर्ने पनि महत्व पूर्ण चुनौति नै हो । र, अर्काे महत्व पूर्ण विषय भनेको विगत देखि हामीले उठाउँदै आएको नागरिकताको विषय हो । हाम्रो नागरिकताले निरन्तरता पाउनु प¥यो । अर्काे शब्दमा दोहोरो नागरिकता पनि भन्ने गरिएको छ । यसलाई अव बन्ने संविधानमा सम्बोधन गराउनु हाम्रो लागि चुनौति बनेको छ । त्यस्तै ठूलो संख्यामा बैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले गर्ने कामलाई व्यवस्थित र मर्यादित बनाउने अर्काे चुनौतिको विषय हो । यीनै कुराहरुलाई मुख्य ध्यान दिने छु । त्यसका अलावा संगठनको नियमित काम कारवाहीलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छु । जस्तै एनआरएन एक्टको संशोधन, संघ दर्ताको प्रक्रिया लगायत रहेका छन् ।

विशेष परिचय पत्रको व्यवस्था गरेको अवस्थामा नागरिकताको निरन्तरता वा दोहोरो नागरिकता किन चाहियो ?

नागरिकता चाहिएको होइन । हामीले अर्काे नागरिकता देऊ भनेको पनि होइन । हाम्रो नागरिकता ऐनमा जुन व्यवस्था छ, त्यसलाई संशोधन गर्नु प¥यो । जसमा भनिएको छ– ‘कुनै पनि नेपाली नागरिकले अर्काे देशको नागरिकता लिएमा उसको नेपाली नागरिकता स्वतः खारेज हुनेछ’ । त्यसैले हामी हिजो पनि नेपाली नागरिक थियौं र आज पनि नेपाली नागरिक नै हौं । विदेशी नागरिकता लिएको कारणले हिजो भइरहेको हाम्रो नेपाली नागरिकता खोसिनु भएन भनेको हो । अर्थात हाम्रो जन्मभूमिको नागरिकता रहिरहोस् भन्ने हो । यसबाट देशलाई नोक्सानी पनि छैन । हामीले कुनै नयाँ व्यक्तिलाई नागरिकता देऊ भनेर भनेको पनि होइन । भइरहेको चिज निरन्तर रहोस भन्ने मात्र हो । त्यसैले हामीले भन्ने गरेका छौं– ‘एक पटकको नेपाली, सधैको नेपाली’ । त्यो हाम्रो भावनात्मक सम्बन्धको कुरा हो । हिजो हामी नेपाली भएर जन्मिएका थियौ र आज विदेशी भए पनि नेपाली भएर रहन चाहन्छौं मात्र भनेको हो । नेपाल, आफ्नो मातृभूमि आउँदा भिसा लिएर आउन नपरोस् । हाम्रा आफ्ना सन्तानहरुले पनि हामी नेपालीका सन्तान हौं भनेर गर्व गर्न सकुन् भन्ने भावनात्मक सम्बन्ध भएको हुनाले यस्तो माग गरेका हौं ।

तपाईहरुले दोहोरो नागरिकता पाउने सम्भावना कत्तिको छ ?

अहिलेको अवस्थालाई हेर्ने हो भने हामी निकै आशावादी भएका छौं । नेपालका राजनीतिक दल तथा स्वयम् सरकार पनि सकारात्मक रहेको हामीले पाएका छौं । त्यसैले अव बन्ने संविधानमा हाम्रो यो भावनात्मक मागको सुनुवाई हुनेछ ।

संस्था स्थापना भएको नौ वर्ष वितिसक्दा पनि नेपालमा दर्ता हुन नसक्नुको कारण चाहिँ के हो ?

दर्ता नहुनुको पहिलो कारण गैरआवसीय नागरिक ऐन २०६४ आयो । उक्त ऐनमा गैरआवासीय नेपालीको परिभाषा दुई वर्ष बाहिर बसेको हुनु पर्ने र विद्यार्थीहरुलाई गैरआवासीय नेपालीको परिभाषामा राखेको छैन । तर हाम्रो विधानको परिभाषा अनुसार कुनै पनि नेपाली छ महिना अर्थात एक सय ८३ दिन विदेशमा बसेको छ भने ऊ गैरआवासीय नागरिक हो । यो हाम्रो मात्र परिभाषा होइन । यो त गैरआवासीय नागरिकको संसारभरी चलेको मान्यता हो । गैरआवासीय नागरिकको विश्वव्यापी परिभाषाले के भन्छ भने कुनै पनि देशको नागरिक आफ्नो देश छोडेर छ महिना एक दिन बाहिर बसेको छ भने त्यो व्यक्ति जहाँ बसेको छ त्यस देशको ट्याक्स रेसिडेन्स हो र आफ्नो देशको गैरआवासीय नागरिक हो । हामीले पनि यहिँ परिभाषा अनुसार होस् भनेका हौ । तर दुनियाँमा नभएको परिभाषा हाम्रो देशको गैरअवासीय नागरिक ऐन २०६४ मा उल्लेख गरिएको छ । त्यसले हामीलाई प्राविधिक कठिनाई उत्पन्न गराएको छ । यति मात्र होइन हामीलाई यसले अन्यौल बनाएको छ । अतः हामीले भनेको के हो भने नेपाल छोडेर सार्क मुलुक बाहेक अन्य कुनै पनि देशमा एक सय ८३ दिन भन्दा बढी दिन विताएको नागरिक गैरआवासीय नागरिक हो । तर ठूलो संख्यामा बैदेशिक रोजगारीमा जाने हाम्रा नेपाली दाजुभाई तथा दिदि बहिनीहरु दुई वर्षको कन्ट्याक्ट हुन्छ । त्यसैले सरकारी परिभाषा अनुसार त सबै बैदेशिक रोजगारीमा जाने साथीहरु गैरआवासीय नागरिक परेनन् । अर्काेकुरा विद्यार्थीहरु पनि नपर्दा यसले अन्यौलता ल्याएको छ । त्यसैले यो ऐन संशोधन गरेर विश्वव्यापी मान्यता अनुसार परिमार्जन गर्न माग गरेका छौं । यो परिभाषा परिवर्तन हुनासाथ नै हाम्रो संस्था नेपालमा दर्ता हुन्छ ।

तपाईहरुको संस्था दर्ता हुनका लागि गैरआवासीय नागरिक ऐन २०६४ नै संशोधन हुनु प¥यो, होइन त ?

दर्ताका लागि हामीले पहल गरिरहेका छौं । यो हाम्रो नयाँ कार्यकारी समितिले सशक्त ढंगले आवाज उठाउँने छ ।

गैरआवासीय नेपाली संघलाई त कुरा धेरै गर्ने काम चाहिँ निकै कम गर्ने संस्था भन्छन् नि ?

एउटा कुरा के हो भने हामी कहाँ धेरै नै समस्याहरु छन् । अर्थात सबैतिर अभाव र समस्याहरु छन् । त्यसैले पनि गैरआवासीय नेपालीहरुबाट धेरै अपेक्षा गरिएको हो कि जस्तो मलाई लागेको छ । तर हामी पहिलो पुस्ताको डायस्पोरा भएको हुनाले अहिले नै नेपालमा धेरै ठूलो लगानी गर्न सक्ने हैसियत बनाएका छैनौं । यति हुँदा हुँदै पनि हाम्रो भावनात्मक सम्बन्ध भएको हुनाले विभिन्न क्षेत्रमा लगानी गरेका छौं । जस्तै संचार, जलविद्युत, दुरसंचार, शिक्षा, स्वास्थ्य बैंकीङ आदि क्षेत्रहरुमा गैरआवासीय नेपालीहरुको लगानी छ । सामुहिक रुपले र व्यक्तिगत रुपले गैरआवासीय नेपाली संघमा आवद्ध व्यक्तिहरुले नेपालमा एफडिआईहरु ल्याएको छ । धेरै टाढा जान्न दुरसञ्चार र आमसञ्चारमा मात्र हेर्नु भयो भने पनि त्यो अर्वाै रुपैयाँमा आएको छ । त्यस्तै अन्य क्षेत्रहरुमा पनि लगानी आएका छन् । यसो भनिनुको मुख्य कारण के होला भने धेरै लगानी आओस भन्ने अपेक्षा हो, तर लगानी आउँदै नआएको भन्ने कुरामा सहमत हुन सकिदैन ।

No Comments

There are currently no comments on सामुहिक लगानीको अवधारणा कार्यान्वयन गर्छौं. Perhaps you would like to add one of your own?

Leave a Comment