समयको रफ्तारसँगै चल्न नसक्दा एक सताब्दि भन्दा बढी विश्वमा व्यापारीक साम्राज्य जमाएको कम्पनी कसरी टाट पल्टिन्छ भन्ने उदाहरण बनेको छ, कोडाक कम्पनी । क्यामेरा र फोटो फिल्म उत्पादमा विश्वमै साम्राज्य जमाएको एक सय ३३ वर्ष पूरानो कम्पनी डिजिटल प्रविधिसँग प्रतिष्पर्धा गर्न नसकेपछि टाट पल्टिएको घोषणा गर्न बाध्य भएको हो ।
जव विश्वमा डिजिटल प्रविधिको विकास हुन थाल्यो तव कोडाक कम्पनीको घाटा सुरु भएको हो । तर कम्पनीले आफूलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नुको साटो प्रतिष्पर्धा गर्न थालेपछि उसको यस्तो अवस्था आएको हो ।
अहिले हाते क्यामराको आविष्कार गर्ने अमेरिकी कम्पनी इस्टम्यान कोडाकले आफु टाट पल्टिएको जनाएको छ । १ सय ३३ वर्ष पुरानो कोडाक कम्पनीले आफुलाई टाट पल्टिएको घोषित गर्न अमेरिकी सरकार सँग अपिल गरेको छ ।
कोडाक कम्पनीका अध्यक्ष एन्टोनियो एम पेरेजले बोर्ड अफ डाइरेक्टर र सबै वरिष्ठ कर्मचारीको बैठकले सर्वसम्मतीबाट लिएको यस्तो निर्णय कोडाक कम्पनीका लागि सही कदम रहेको बताए ।
पछिल्लो समय क्यामराको साटो प्रिन्टरको उत्पादनमा ध्यान केन्द्रित गरेपनि कोडाक कम्पनीले खासै नाफा गर्न नसकेपछि संकटमा परेको थियो ।
कोडाक कम्पनीले टाट पल्टिएको घोषणा गर्न गरेको अपिललाई सरकारले स्विकृत गरेमा कम्पनीले केही समयको लागि आफ्ना साहुहरुलाई पैसा तिर्न केही समय पाउनेछ भने उसले कम्पनीको पुनर्संरचनाको लागि समेत मौका पाउनेछ । कुनै समय डेढ लाग कर्मचारी रहेको कोडाक कम्पनीमा अहिले १९ हजार मात्र कर्मचारी छन् । टाट पल्टिएको घोषणा भएमा ती कर्मचारीको तलब पनि केही समय रोकिन सक्ने बताइएको छ ।

No Comments
There are currently no comments on एक सय ३३ वर्ष पूरानो कोडाक कम्पनी टाट पल्टियो. Perhaps you would like to add one of your own?