सोनिया केसी,क्यालिर्फोनिया
नेपाली जनसम्पर्क समिति क्यालिर्फोनिया तथा बे एरिया नेपाली वुमेन अर्गनाईजेसनको संयुक्त आयोजनामा आगामी ११ अगष्टमा सनफ्रान्सिस्कोमा ‘प्रशान्त– अमित म्यूजिकल नाइट’ आयोजना हुने भएको छ ।
उक्त कार्यक्रममा इण्डियन आइडल प्रशान्त तामाङ र इण्डियन आइडलका अर्का सहभागी अमित पलको प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरुले समेत विभिन्न प्रस्तुति देखाउनेछन् । होटल हिल्टनको प्लाजा हल, सनफ्रान्सिस्को क्यालिर्फोनियामा साँझ ७ बजेदेखि १२ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागिताका लागि २५ डलर टिकट दर तोकिएको छ ।
उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोजकहरुले चन्द्र धितालको संयोजकत्वमा कार्यक्रम आयोजक कमिटी समेत गठन गरेका छन् । कमिटीका सहसंयोजकमा राजेश थापा र सदस्य सचिवमा युवराज कार्की रहनु भएको छ भने सदस्यहरुमा पार्वती लामा, प्रेस्किला दाहाल, भूपेन्द्र गुरुङ, अनुप तिमिल्सिना, छिरिङ शेर्पा, कृष्ण सञ्जेल रहनु भएको छ ।
म्युजिकल नाइटमा आफ्नो प्रस्तुति पस्किन लागिरहेका प्रशान्त तामाङ नेपाल मूलका हुन् । उनी सन् २००७ को इण्डियन आइडल बन्न सफल भएका थिए । भारतीय प्रहरीमा कार्यरत उनले ७० लाख भोट पाएका थिए । उनको जन्म ४ जनवरी १९८३ मा दार्जिलिङमा भएको थियो । इण्डियन आइडल भईसकेपछि उनले नेपाली र हिन्दी गीतहरु समेटिएको ‘धन्यवाद’ गीति एल्बम निकालेका थिए ।
उनले सन् २००८ मा ‘नमस्ते’ नामक एल्बम निकाले भने सन् २००९ देखि उनले नेपाली चलचित्रहरुमा कलाकारको भूमिकामा समेत अभिनय गर्न शुरु गरेका छन् । उनको पहिलो नेपाली चलचित्र गोर्खा पल्टन र त्यसपछिको अंगालो यो मायामा उनले अभिनय र गायन दुवै छ भने किन माया भन्ने फिल्ममा उनले अभिनय मात्र गरेका छन् । उनले गाएको असारे महिनामा भन्ने रिमिक्क अत्यन्तै चर्चित रहेको छ । प्रशान्त तामाङ कार्यक्रममा सहभागी हुन दोस्रो पटक अमेरिका जान लागेका हुन् ।
यस्तै अर्का अमित पल सन् २००७ को इण्डियन आइडलमा रनरअप भएका थिए । त्यसपछि उनी एकसे बडकर एक भन्ने जीटीभीको शोमा समेत देखा परेका थिए । २८ डिसेम्बर १९८२ मा भारतको सिलीङ मेघालयमा जन्मिएका पल स्कूल, कलेज पछाडि पुख्र्यौली गार्मेन्ट व्यवसायमा संलग्न भएका थिए ।
उनले अमेरिका, हङकङ, बेलायत, सिंगापुर, नेपाल लगायत थुप्रै देशमा आफ्नो प्रस्तुति देखाईसकेका छन् । प्यारकी दस्तान नामक बोलको गीत उनको चर्चित गीत हो । आयोजक कमिटीका संयोजक चन्द्र धितालले प्रशान्त– अमित म्यूजिक नाइट सफलतापूर्वक सम्पन्न गर्नका लागि बे एरियाबासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आह्वान गर्नुभएको छ । उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमको रौनक बढाउन र कार्यक्रमबाट भरपूर मनोरञ्जन लिन उहाँले बे एरियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आह्वान गर्नुभएको हो ।





No Comments
There are currently no comments on सनफ्रान्सिस्कोमा ११ अगष्टमा प्रशान्त–अमित म्यूजिकल नाइट हुने. Perhaps you would like to add one of your own?