गैरआवासीय नेपाली संघ परोपकारी परियोजनाद्वारा हेल्प नेपाललाई सहयोग प्रदानआज सन् २०१२ जुलाई २ का दिन काठमाडौंमा भएको एक अनौपचारिक समारोह वीच गैरआवासीय नेपाली संघका अध्यक्ष एवं परोपकारी कार्यदलका सभापति जीवा लामिछानेले रु. ८,१७,६४२ को चेक हेल्प नेपाल नेटवर्कका संस्थापक रवीन्द्र मिश्रलाई सहयोग स्वरुप हस्तान्तरण गर्नु भयो । उक्त रकम सेती बाढी पिडित र सिराहा जिल्लाको औरही गाविसमा भएको भिषण आगलागीबाट प्रभावित व्यक्तिहरुको सहयोगको लागि प्रदान गरिएको हो । सो रकम हस्तान्तरण गर्नु हुँदै संघका अध्यक्ष लामिछाने आगामी दिनहरुमा संघले यस प्रकारका सहयोगहरुलाई निरन्तरता दिने बताउनु भयो । उहाँले यस कार्यको लागि सहयोग गर्ने एनसिसिहरुलाई धन्यवाद ज्ञापन गर्दै संघको परोपकारी परियोजना बारे प्रकाश पार्नु भएको थियो । यसरी नै हेल्प नेपाल नेटवर्कका संस्थापक मिश्रले हेल्प नेपाल बारे जानकारी दिदै गैरआवासीय नेपाली संघको यस सहयोग प्रति हार्दिक आभार प्रकट गर्नुका साथै भविष्यमा पनि गैरआवासीय नेपाली संघको परोपकारी कार्यको लागि सहकार्य गर्नको लागि सदैव तत्पर रहने कुरा बताउनु भयो । आज हस्तान्तरण गरिएको उक्त रकम एनसिसि जापान, एनसिसि कुवेत, एनसिसि रसीया, एनसिसि न्युजील्याण्ड,एनसिसि डेनमार्क, एनसिसि लेवनान र एनसिसि नाइजेरियाबाट सहयोग स्वरुप प्राप्त भएको हो ।यस समारोहमा संघका उपाध्यक्ष रामेश्वर शाह, अफ्रिकाका कार्यवाहक क्षेत्रीय संयोजक हिक्मत थापा, क्यानाडाका आईसिसि सदस्य डा. प्रमोद ढकाल, एनसिसि न्युजिल्याण्डका निवर्तमान अध्यक्ष भोला प्रधान, हेल्प नेपल नेटवर्कका अध्यक्ष एवं सदस्यहरुका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।मितिः २ जुलाई २०१२




No Comments
There are currently no comments on गैरआवासीय नेपाली संघ परोपकारी परियोजनाद्वारा हेल्प नेपाललाई सहयोग प्रदान. Perhaps you would like to add one of your own?